जोरायल गाँउ पालिकाले विद्यालय शिक्षामा वार्षिक क्यालेण्डर लागू गरेपछि शिक्षामा नियमितता र गुणस्तरमा सुधार देखिन थालेको छ । गाँउपालिकाले शिक्षक तथा अभिभाव सँगको परामर्शमा आफ्नो शैक्षिक क्यालेण्डर तयार गरी पालिकाका सम्पूर्ण विद्यालयमा पठाएपछि त्यसको कार्यान्वयन शुरु भएको हो ।
शैक्षिक क्यालेण्डरमा विद्यालय खुल्ने र विदा हुने दिन किटान हुनाका साथै हरेक महिनाको कुन बार, कति गते, प्रधानअध्यापक, शिक्षक, व्यवस्थापन समिति र स्थानीय तहले के के गर्ने भन्ने स्पष्ट तोकिएको हुन्छ । विद्यालयहरुले लिने परिक्षा तथा अन्य गतिविधिवारे पनि क्यालेण्डरमै उल्लेख गरिएको छ । शिक्षा नियमावलीमा वर्षमा कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने उल्लेख छ । त्यसै व्यवस्थालाई कार्यान्वयन गर्न शैक्षिक क्यालेण्डर २२० दिन विद्यालय खुल्ने तथा १९२ दिन पढन पाढनको सुनिश्चितता गरिएको पालिकाका शिक्षा प्रमुख तेज अविरल वताउनु हुन्छ । क्यालेण्डरमा स्थानीय धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक एवं सम्पदाका तस्बीर र परिचयका साथै स्थानीय तहका शैक्षिक गतिविधिबारे पनि उल्लेख हुने भएकाले यो विद्यालयहरुका लागि पनि जानकारीमूलक हुनेछ । यो क्यालेण्डर यस पालिकाका सम्पूर्ण ६१ विद्यालयमा लागु गएिको छ ।
विद्यालय क्षेत्र विकास कार्यक्रमको दस्तावेजमा सन् २०२२ सम्ममा सबै विद्यालयमा शान्ति क्षेत्र कायम भइसकेको हुनुपर्ने, स्वतन्त्र र भयरहित वातावरणमा गुणस्तरीय शिक्षा पाउने अधिकारमा हनन् हुन नहुने उल्लेख भएकाले शैक्षिक क्यालेण्डरका माध्यमबाट सुधार ल्याउने प्रयास गरिएको हो । शैक्षिक क्यालेण्डरले विद्यालयका अनावश्यक वन्द तथा गैर शैक्षिक गतिविधिलाई निरुत्साहीत गर्दै विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न समेत मद्धत गरेको छ ।
शिवपुर माविमा प्रधानअध्यापक निर्मल रावलत शैक्षिक क्यालेण्डअनुसार काम गर्दा विद्यालयमा सुशासन र शैक्षिक सुधारमा सहयोग पुग्न थालेको बताउनु हुन्छ । शैक्षिक क्यालेण्डर लागु भए पछि गाँउपालिका भरिका विद्यालयहरुमा एकरुपता आएको छ भने विभिन्न दवावमा हुने विद्यालय वन्दलाई समेत नियन्त्रण गरेको छ । परिक्षा र विदामा एकरुपता आएको छ । विद्यालय खुल्ने वा बन्द हुने कुनै दुविदा रहदैन । पूर्व योजना अनुसार विद्यालय संचालन हुन थालेका छन । विद्यालयहरुले डुक्कले शैक्षिक क्यालेण्डर अनुसार गतिविधि गर्न पाएका छन् भने गाँउ पालिकाको प्रशासनीक कार्यमा सहेत सहजता आएको छ ।
क्यालेण्डर अनुसार पढन पाढन तथा अन्य गतिविधि भए नभएको गाँउपालिकाले अनुगमन गर्ने गरेको छ । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त विष्टले सबै विद्यालयमा क्यालेण्डर अनुसार पढाइ र काम भए नभएको बारे आफूहरुले समय समयमा अनुगमन गर्ने गरेको जानकारी दिनुभयो । शैक्षिक क्यालेण्डरले गर्दा विद्यालयको पढाइमा नियमितता तथा शिक्षण सिकाइको दिनमा वृद्धी भइ शैक्षिक सुधारमा सहयोग पुगेको वताउनु हुन्छ ।
एजुकेसन पेजेजले युनिसेफको सहयोगमा सुदूरपश्चिम प्रदेशका पाँच स्थानीय तहमा विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र र विद्यालय शान्ति क्षेत्रसम्बन्धी निर्देशिका कार्यान्वयनका लागि सहजीकरणसहित शैक्षिक क्यालेण्डर निर्माणमा सहयोग गर्दै आएको छ ।