Published: 05 March 2019
राजविराज, २० फागुन । प्रदेश २ को शिक्षा विकास निर्देशनालयले प्रदेशका विद्यालयहरु फोहोर रहने गरेको भन्दै सफा राख्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
प्रदेशका विद्यालयहरुको अनुगमनको क्रममा धेरै विद्यालयमा विद्यालय हाता, कक्षाकोठा सफा नराखेको पाइएको बताउँदै निर्देशनालयले विद्यालयलाई सफा र स्वच्छ बनाउन भनेको हो ।
निर्देशनालयको तर्फबाट विद्यालयहरुलाई पत्राचार गर्दै फोहर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहरहरु बेग्ला बेग्लै संकलन गर्न मिल्ने गरी डस्टविनको व्यवस्था गर्न भनेको छ । यस्तै विद्यालय हाता, कक्षाकोठा, शौचालयहरु नियमित सफा गर्न, शौचालयमा पानीको व्यवस्था गर्न, नियमित विद्यालय हातामा पानी छर्केर धुलो आउन नदिन, माथिल्ला कक्षाहरु सञ्चालन भएका विद्यालयहरुमा छात्रा शौचालयमा सेनेटरी प्याड र प्याड विसर्जन स्थान तथा डस्टविनको व्यवस्था गर्न पत्रमा भनिएको छ ।
विद्यालयको वातावरण सुन्दर र हरियालीयुक्त निर्माण गर्न भन्दै पत्रमा विद्यालयहरुले विद्यालय हाता भित्र फलफूल र सजावटका विरुवाहरु रोप्न, जमिन पुगेमा करेसावारी निर्माण गर्न, सकेसम्म विद्यालयमा आएका पाहुनाहरुलाई स्वागत गर्न आफैले उत्पादन गरेका फूल तथा विरुवाका पातका गुच्छाहरुको प्रयोग गर्न निर्देशन दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको “विद्यालय हरित कार्यक्रम निर्देशिका, २०७५” लाई कार्यान्वयन गर्न र प्रदेश नं २ को “मूख्य मन्त्री श्वच्छता अभियान”मा आप्mनो स्थानबाट सहयोग पु¥याउन विद्यालयहरुसँग आग्रह गरिएको छ ।
विद्यार्थीलाई गुनासोको मौका देऊ
निर्देशनालयले विद्यार्थीलाई गुनासोको मौका दिन पनि विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयहरुमा गुनासो पेटिका अझै नराखिएको, गुनासो राख्न जाँदा प्रधानाध्यापकले हप्काउने गरिएको, गालीगलौज र पिटने समेत गरेको पाइएको भन्दै विद्यालयहरुलाई पठाएको अर्को पत्रमा अनिवार्य रुपमा गुनासोको मौका दिन भनिएको छ ।
विद्यालयका सबै विद्यार्थीलाई गुनासा राख्न मौका दिने, विद्यार्थीका राम्रा विचारलाई सम्मान गर्ने, निर्णयमा सहभागी गराउने, सहज स्थानमा गुनासो पेटिकाहरु राख्ने, गोप्य गुनासाहरु गुनासो पेटिकामा राख्न उत्प्रेरित गर्ने, कम्तीमा पनि हप्तामा एक पटक गुनासो पेटिका खोल्ने, सम्भव हुने गुनासाको तत्काल सम्बोधन गर्ने र बढी श्रोत र साधन आवश्यक्ता पर्ने गुनासाहरु क्रमशः सम्बोधन गर्न पत्र मार्फत् विद्यालयहरुलाई निर्देशन दिइएको निर्देशनलायका निर्देशक रमाकान्त शर्माले बताए ।